यु–१८ फुटबलमा बागमती र मधेशको टोली च्याम्पियन

काठमाडौँ : बागमती प्रदेशको मनकामना स्कुल र मधेश प्रदेशको जनज्योति सेकेण्डरी स्कुल एशियन पेन्ट्स अन्तरविद्यालय यु–१८ छात्र तथा छात्रा राष्ट्रिय फुटबल च्याम्पियनसिपको च्याम्पियन भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार भएको फाइनलमा मनकामना ब्वाइजततर्फ र मधेश गर्ल्सतर्फ च्याम्पियन भएको हो। देशभरबाट कुल ३२७ वटा विद्यालयले जिल्ला र प्रदेशमा छनोट हुँदै राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। तीमध्येबाट मधेशको जनज्योति गर्ल्समा र बागमतीको मनकामना ब्वाइजततर्फ च्याम्पियन भए।
गर्ल्सतर्फ भएको फाइनलमा मधेशको जनज्योति सेकेन्डरीले सुदूरपश्चिम प्रदेशको श्री जीवनज्योति माविलाई ७–२ गोलअन्तरले हरायो। मधेशको जनज्योतिका लागि अनिता रानामगरले ह्याट्रिक गरिन्।
विजेता राईले समान दुई तथा दीक्षा रानापाल र रकिशा दंगालले समान एक गोल गरे। सुदूरपश्चिमकी बिबिशा बिष्टले दुई गोल फर्काए पनि आफ्नो टोलीको हार टार्न सकिनन्।
ब्वाइजगतर्फ फाइनलमा बागमतीको मनकामनाले गण्डकी प्रदेशको गुरुकुल विद्यासदनलाई २–० ले हरायो। खेल सकिन एक मिनेट बाँकी छँदा दुई गोल बेहोरेपछि गण्डकी उपाधिबाट वञ्चित भयो।
विजेता टोलीले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङका साथै महिला टोलीकी पूर्वकप्तान अञ्जिला तुम्बाप्पो सुब्बा लगायतले पुरस्कृत गरे।
..jpeg)
